कोशी–मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर

hitkhabar.com


काठमाडौं । देशका विभिन्न भू–भागमा मनसुनी वायु सक्रिय रहँदा आज कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा यसको प्रभाव देखिएको छ। अन्य स्थानमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रसँगै कोशी प्रदेशका तराई भू–भाग र मधेश प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाएको छ। यस्तै, कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर (हीट वेभ) को प्रभाव रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने बताइएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसँगै कोशी प्रदेशका तराई भू–भाग र मधेश प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका तराई क्षेत्र, मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया