रामेछाप । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्गका विभिन्न खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । स्थान–स्थानमा सडक अवरुद्ध हुँदा पूर्वी नेपाल आवतजावत गर्ने सवारी साधन अलपत्र परेका छन् ।
प्राप्त जानकारी अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत तीन स्थानमा राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि बन्द रहेको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
रोशी–११ माम्तीस्थित सडक खण्डमा भेलसहितको बाढीले कटान गर्दा सडक पूर्णरूपमा बन्द भएको छ भने रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोले सडक अबरुद्ध बनाएको हो । त्यस्तै, बिरुवाडाँडामा खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । अहिले जेसिभी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयवासीका अनुसार वर्षा सुरु भएलगत्तै पहिरो र बाढीको जोखिम उच्च हुने गरेको र केही समयदेखि अस्थायी रूपमा सञ्चालनमा रहेको सडकमा बारम्बार समस्या आइरहेको छ । गएको असोजमा सोही क्षेत्रमा आएको ठूलो पहिरोले ठुलो क्षति पुर्याएको थियो ।
सडक अबरुद्ध भएपछि रामेछाप, सिन्धुली लगायतका पूर्वी भेगमा जाने तथा त्यहाँबाट आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन प्रयास तीव्र पारिएको जनाइएको छ ।