देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने तातो दिन हुने सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भाग र बाँकी तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया