संघीय लोकतान्त्रिक मोर्चा : अधिकारको अन्तिम लडाइँमा एकताको आह्वान

hitkhabar.com


जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले सुरु गरेको वर्तमान राजनीतिक अवस्था–जनजागरण अभियान शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मोर्चामा आवद्ध तराई–मधेश केन्द्रित ६ दलका शीर्ष नेताहरुले एक जुट भएर अन्तिम अधिकारको लडाइँ लड्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासन प्रणाली र संविधानले सबै नेपालीको अधिकार समेटे मात्रै देश सबकाे हुने बताए । उनले मधेश आन्दोलनका क्रममा भएको ८ बुँदे र २२ बुँदे सम्झौतालाई बेवास्ता गर्दै संविधान जारी गरिएको आरोप लगाए । “मधेशवादी नेताहरु सडकमा आन्दोलनरत रहँदा कांग्रेस, एमाले र माओवादी मिलेर संविधान पारित गरेर दिपावली मनाएका थिए,” महतोको भनाइ थियो । उनले मधेशी, आदिवासी, जनजाति र थारु सबै मिलेर अन्तिम पटक अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मोर्चाभित्र आवद्ध दलहरु अलग–अलग भए पनि तराई–मधेशका जनताका हक–अधिकारका सवालमा सबैको आवाज एउटै हुने बताए । उनले लोकतन्त्रमा दल विभाजन सामान्य हुने तर सत्तामा पुगेका दलहरुले जनताको आवश्यकता पूरा गर्न स्रोत साधन परिचालन गर्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै सानो दलले एक्लै आफ्नो वा जनताको पक्षमा ठूलो परिवर्तन गर्न नसक्ने भन्दै सम्पूर्ण मधेशवादी दललाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे । भूमि विधेयकमार्फत मधेश र मधेशी जनतालाई विभाजन गर्ने सरकारको नियत रहेको आरोप लगाउँदै उनले उक्त विधेयकलाई कुनै हालतमा पारित हुन नदिन सबै नेपालीले आवाज उठाउनुपर्ने बताए । यादवका अनुसार सरकारको योजना मधेश प्रदेशका वन–जंगल, चुरे क्षेत्र र अन्य जमिनमा अन्य भेगका नागरिक बसोबास गराई मधेशी एकतालाई कमजोर पार्ने रहेको छ ।

मोर्चाको जनजागरण अभियानमा आवद्ध दलका नेताहरुले मधेशी जनताको अधिकार सुनिश्चित नहुन्जेलसम्म संयुक्त संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया