काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले धार्मिक र्यालीसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान संवेदनशील परिस्थितिमा सबैले संयमित हुँदै सरकारलाई साथ दिनुपर्ने बताएका छन्। उनले धार्मिक र्यालीमा गोली चलेको, हिंसा भड्किएको तथा दङ्गा फैलिएको उल्लेख गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग अपिल गरेका छन्।
शाहीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। दङ्गामा कसैको भौतिक सम्पत्ति नष्ट भए पनि वा कसैको ज्यान गए पनि त्यो नेपालीकै क्षति भएकाले सबै पक्षलाई शान्त, जिम्मेवार र संयमित रहन उनले हार्दिक अपिल गरेका छन्।
उनले हिंसा होइन, संवाद र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।