काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग आसपास रहेकाले देशभर वर्षा हुने अनुकूल अवस्था बनेको हो।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्यतया पूर्ण बदली रहनेछ। हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। यस्तै, पहाडी भू–भागका अधिकांश स्थान र तराईका धेरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका अधिकांश स्थान, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा देशका अधिकांश तराई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै बागमती प्रदेशका हिमाली, पहाडी र तराई भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद्ले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।