काठमाडौं । देशभर मनसुनी गतिविधि थप सक्रिय बन्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार र बुधबार विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बङ्गालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढेकाले आगामी दुई दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको हो।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। मनसुन थप सक्रिय बन्दै जाँदा वर्षाको मात्रा अझ बढ्ने सम्भावना रहेको जनाएको छ।
आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने उल्लेख गरिएको छ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहने, नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।