परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेट

hitkhabar.com


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग आज दिउँसो मन्त्रालयमा बिदाइ भेटवार्ता गरेका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप गहिरो बनाउन उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

मन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्वपूर्ण प्रगतिका साथै जनस्तरको सम्बन्धलाई पनि उल्लेख गरे।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा उपलब्ध गराएको शीघ्र विपद् राहत सहयोगप्रति पनि परराष्ट्रमन्त्री खनालले गहिरो आभार व्यक्त गरे।

मन्त्री खनालले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भविष्यका प्रयासका लागि शुभकामना व्यक्त गर्दै उनी आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहने विश्वास व्यक्त गरे।

भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो कृतज्ञता व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल–भारत सम्बन्ध अझ सुदृढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे।

प्रतिक्रिया