मनसुन सक्रिय, आज कहाँ–कहाँ हुँदैछ वर्षा ?

hitkhabar.com


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मधेश तथा कोशी प्रदेशका तराई भू–भागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिक्रिया