काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ।
महाशाखाका अनुसार ती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
तराईका भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।