प्रचण्डलाई ओलीको आग्रह : फ्लडलाइट र प्यारापिटको काम हेर्न कीर्तिपुर जानुस्

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कीर्तिपुर रंगशाला पुगेर प्यारापिट र फ्लडलाइटको काम अवलोकन गर्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभामा प्रश्न उठाउँदै कीर्तिपुर रंगशालामा सरकारको घोषणा अनुसार काम नभएको भन्दै वर्तमान सरकारको क्षमता र प्रतिबद्धतामाथि प्रश्न गरेका थिए। दाहालले भनेका थिए, "३ सय दिन बितिसक्यो, जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ?"

उनको यही टिप्पणीपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ दिएका छन्। ओलीले लेखेका छन्, “पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।”

प्रधानमन्त्री ओलीका अनुसार अहिले प्यारापिट निर्माणको काम अगाडि बढिरहेको छ भने फ्लडलाइटका पोलहरू जडान हुँदैछन्। उनले भने, ‘योजना अनुसार नै काम भइरहेको छ, देख्न चाहनुहुन्छ भने कीर्तिपुर पुग्नुस्।’

त्यस्तै, आफू प्रधानमन्त्री हुँदा ‘काम गर्न समय तोक्ने, त्यसको जवाफ दिन सक्ने संस्कार’ को सुरुवात गरेको ओलीको दाबी छ। उनले प्रचण्ड नेतृत्वको सरकारलाई लक्षित गर्दै लेखेका छन्, “तपाईं प्रधानमन्त्री हुँदा कुनै कामको समयसीमा तोक्नु भएन, कुनै प्रतिवद्धता जनाउनु भएन, निर्णय गर्नुभएन, संकल्प लिनुभएन। मैले भने दिन तोकेर काम गर्ने घोषणा गरेँ, जनतालाई जवाफ दिने संस्कार बसाल्ने प्रयास गरेँ।”

ओलीले अर्थतन्त्रको सन्दर्भ पनि लेखेका छन्, “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो भन्ने तथ्यांक हेर्न सुझाव दिन चाहन्छु।”

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले कीर्तिपुर रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको भए पनि हालसम्म त्यसको प्रगति नदेखिएको भन्दै संसदमै प्रश्न उठाएका थिए। त्यसको केही घण्टापछि प्रधानमन्त्री ओलीको फेसबुक प्रतिक्रिया सार्वजनिक भएको हो।

प्रतिक्रिया