आज प्रतिनिधिसभा बैठक बस्दै

hitkhabar.com


काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा आह्वान गरिएको हो ।

आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्ने कार्यसूची रहेको छ ।

साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने र त्यसपछि विधेयक पेस गर्ने तयारी गरेका छन् ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत मन्त्री अधिकारीले आजको बैठकमा राख्नेछन् ।

यसैबीच, सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयकमा राष्ट्रियसभाबाट भएको विचार र संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठक बालबालिका, भूमि तथा संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल र निर्णयमा केन्द्रित हुने देखिएको छ ।

प्रतिक्रिया