काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ०८२ साल फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक तयारी तत्काल अगाडि बढाउन निर्देशन दिएकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन सरकारको उच्च प्राथमिकताको विषय भएकाले आयोगलाई आवश्यक स्रोत–साधन र जनशक्ति उपलब्ध गराइने स्पष्ट पारिन्। उनले शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरोकारवालासँग निरन्तर छलफल गर्न आग्रह गरिन्।
छलफलमा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक मतपेटिकासहितका सामग्री मौज्दातमै रहेको जानकारी दिए। मौज्दातमा नभएका सामग्री स्वदेशमा उत्पादित वस्तुलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने उल्लेख गर्दै उनले राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर समन्वय गरेर निर्वाचनलाई सफल बनाइने प्रतिबद्धता जनाए। साथै, सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन पनि उनले अनुरोध गरे।
छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, सरकारका मुख्य सचिव एकनारायण अर्याललगायत अधिकारीहरूको उपस्थिति थियो। आयोगतर्फबाट निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा र सचिव महादेव पन्थ उपस्थित थिए।