पर्यटन प्रवर्द्धनको ढोका होटल व्यवसायी नै हुन् : पर्यटन मन्त्री पाण्डे

hitkhabar.com


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटल व्यवसायलाई पर्यटन प्रवर्द्धनको मूल ढोका भएको बताएका छन् ।

एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पाण्डेले होटल व्यवसायलाई पर्यटनको मेरुदण्डको रूपमा चित्रण गरे ।

उनले भने, “भौतिक र अभौतिक आतिथ्य दुवैमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । जति धेरै सेवा प्रवाहमा मिहिनेत गर्नुहुन्छ, पर्यटन क्षेत्र त्यति नै लाभान्वित हुन्छ ।”

पर्यटकहरू नेपालका हिमाल हेर्न आउने भए पनि नेपालीको मुस्कानसँग प्रभावित भएर फर्कने गरेको स्मरण गराउँदै मन्त्री पाण्डेले आतिथ्य संस्कृतिमा अझ सुधार आवश्यक रहेको बताए ।

“हिमाल हेर्न आउने पर्यटकलाई हाम्रो व्यवहार र मुस्कानले फेरि नेपाल फर्किन प्रेरित गर्न सक्नुपर्छ,” उनले भने, “पर्यटनको मूल विन्दुमा होटल व्यवसायीको नै प्रमुख भूमिका हुन्छ ।”

कार्यक्रममा मन्त्री पाण्डेले पछिल्लो पुस्तालाई संयमता र धैर्यता अपनाउन आग्रह गर्दै व्यवसायमा टिकाउ सोच आवश्यक रहेको धारणा राखे ।

“आजको पुस्तामा छिटो धन आर्जन गर्ने, छोटो बाटो समाउने र सीमाना मिचेर अर्बौं कमाउने प्रवृत्ति देखिन्छ,” उनले भने, “तर सफलता पाउन तल्लो सिँढीबाटै अगाडि बढ्नुपर्छ, एकैछिनमा शिखर चुम्न खोज्ने सोच असफल हुन्छ ।”

कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी, संघका पदाधिकारी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया