काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो पटक ‘एसीसी प्रिमियर कप क्रिकेट’को उपाधि जित्दै एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेकोमा सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
उपराष्ट्रपति यादवले नेपाली क्रिकेट टोलीको यो ऐतिहासिक सफलताले समग्र राष्ट्रको गौरव बढाएको बताउनुभएको छ। उहाँले टोलीको सफलता राष्ट्रको आत्मविश्वास, एकता र सम्भावनाको प्रतीक भएको उल्लेख गर्नुभएको हो।
उहाँले उपाधि जित्न खेलाडीहरूले देखाएको अनुशासन, समर्पण, मेहनत र राष्ट्रप्रतिको भावनाको उच्च प्रशंसा गर्नुभएको छ।
नेपाली क्रिकेट टोलीको यस उपलब्धिले देशको खेल क्षेत्रमा थप उत्साह र ऊर्जा प्रदान गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शनका लागि सम्पूर्ण टोलीलाई शुभकामना दिनुभएको छ।