काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल भइरहेको हो।
छलफलमा बाढीबाट प्रभावित क्षेत्रमा पछिल्लो समयको अवस्था, उद्धार तथा राहतको स्थिति र देखिएका चुनौतीबारे समीक्षा गरिनेछ।
त्यसैगरी प्रभावित क्षेत्रमा तत्काल चाल्नुपर्ने आवश्यक कदम, पुनःस्थापना तथा पुनरुत्थानका योजना र आगामी दिनमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित रहने जनाइएको छ।
बाढीका कारण प्रभावित स्थानीय तहमा देखिएका समस्या प्रत्यक्ष रूपमा जनप्रतिनिधिबाट जानकारी लिँदै सरकारले आवश्यक कदम चाल्ने विषयमा छलफल हुने बताइएको छ।