काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूतसहित वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज ७ गते अर्थात् सेप्टेम्बर २३ मा दोहाबाट न्युयोर्क प्रस्थान गर्नेछन्। न्युयोर्क पुगेपछि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले उनलाई स्वागत गर्ने कार्यक्रम छ।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले नेपालको स्थायी नियोगमा भ्रमणसम्बन्धी ब्रिफिङ लिनेछन्। असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा प्रस्थान गर्ने र असोज १० गते अर्थात् सेप्टेम्बर २६ मा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।