आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

hitkhabar.com


काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्ति भावका साथ मनाउँदै छन् । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी र दामोदरको विवाह गरी विशेष पूजा–आराधना गर्ने परम्परा आजको मुख्य विशेषता हो ।

हरेक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई “प्रबोधिनी” वा “देव उठनी एकादशी” पनि भनिन्छ । असार शुक्ल एकादशी अर्थात् “हरिशयनी एकादशी” का दिन क्षीरसागरमा विश्राम लिनुभएका भगवान् विष्णु आजका दिन जागरण हुने धार्मिक विश्वास रहेको छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनालाई “चातुर्मास” भनिन्छ । यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा रहिआएको छ । भक्तजनले यस अवधिभर तुलसीको व्रत गरी भगवान् विष्णुको आराधना गर्छन् ।

आजका दिन घर–घरमा रोपिएको तुलसीको मठलाई गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ । त्यसपछि तुलसीलाई भगवान् दामोदर (विष्णु) सँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले तुलसी–दामोदर विवाहले जीवनमा समृद्धि र शुद्धता ल्याउने धार्मिक विश्वास छ ।

कात्तिक महिनाभर तुलसीको मठमा देवदेवीको वास हुने भनाइ छ । धर्मशास्त्रका अनुसार आजका दिन अग्निस्थापना गरी विशेष पूजा र हवन गरे ठूलो फल प्राप्त हुन्छ । गरुड पुराणमा उल्लेख भएअनुसार भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने बताइन्छ ।

तुलसीलाई धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि लाभदायक मानिन्छ । तुलसीको पात र रसले रुघाखोकी, औलो, र विभिन्न रोगबाट बचाउँछ । यसको सुगन्धले वायु शुद्ध बनाउँछ र घरलाई पवित्र राख्छ भन्ने जनविश्वास छ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा निकाल्ने, शंख–घण्टा बजाउँदै “गोविन्द उठ्नुस्, तपाईं उठे जगत् उठ्छ” भन्ने परम्परा चलनमा छ । किसानहरूले तुलसी मठमा उखुको बोट गाड्ने र अन्न नखाई फलाहार गर्ने गर्छन् । यसरी व्रत गरेमा पाप नाश भई पुण्य प्राप्ति हुने विश्वास छ ।

धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिरमा आज विशेष मेला लाग्ने गर्दछ । त्यस्तै काठमाडौं उपत्यकाका चार नारायण — चाँगुनारायण, विशंखुनारायण, शेषनारायण र इचंगुनारायण — मा पनि विशेष पूजाअर्चना र भक्तजनको भीड लाग्ने गर्दछ ।

बूढानीलकण्ठ नारायणस्थानमा दर्शन गरे चारै नारायणको दर्शन गरे बराबरको फल प्राप्त हुने विश्वास रहिआएको छ । आजै देशभरका नारायण मन्दिरहरूमा विशेष पूजा, भजन–कीर्तन र हवनसहित हरिबोधिनी एकादशी पर्व श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।

प्रतिक्रिया