आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै

hitkhabar.com


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार सरकारले आज नयाँ बजेट सार्वजनिक गर्न लागेको हो।

बजेट प्रस्तुत हुने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भइसकेपछि आगामी आर्थिक वर्षको बजेट ल्याउन लागिएको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्नुभएको थियो।

स्रोतका अनुसार आगामी बजेटको आकार अघिल्लो वर्षको तुलनामा केही ठूलो हुन सक्ने अनुमान गरिएको छ। आर्थिक गतिविधि विस्तार, विकास निर्माण तथा नागरिकका प्राथमिक आवश्यकतालाई सम्बोधन गर्ने विषय बजेटका मुख्य प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया