सरकारी कार्यालयमा अनुगमन तीव्र: ८५३ कार्यालय निरीक्षण, ८,८३० कर्मचारीमाथि कारबाही गर्न निर्देशन

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी कार्यालयहरूको अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

केन्द्रका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता देशभरका ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ। अनुगमनका क्रममा सरकारी आचारसंहिता पालना नगरेको पाइएका ८ हजार ८३० कर्मचारीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित अख्तियारवालालाई निर्देशन दिइएको केन्द्रले जनाएको छ।

केन्द्रले राष्ट्रिय योजनाहरूको प्राविधिक परीक्षण, सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि ‘फाइल ट्र्याकिङ’ प्रणाली सञ्चालन तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षण लगायतका कार्यसमेत गर्दै आएको जनाएको छ।

सुशासन र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सतर्कता ऐन’ तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जानकारी दिएको छ। उक्त ऐन कार्यान्वयनमा आएपछि केन्द्रलाई थप अधिकारसम्पन्न बनाइने तथा प्रविधिको प्रयोग बढाउँदै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई देशव्यापी रूपमा सुदृढ बनाइने तयारी गरिएको छ।

सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेको सूचना भए राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१–४२००३४५ मा फोन गरेर जानकारी गराउन केन्द्रले सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया