डा. कोइराला समूहले भन्यो– ‘एकतर्फी निर्णय, सशक्त प्रतिवाद गर्छौं

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूहले पार्टीले चालेको अनुशासन कारबाहीको खुलेरै प्रतिवाद गर्ने भएको छ । पार्टी अनुशासन समितिबाट एकतर्फी ढंगले कारबाहीको प्रक्रिया अघि बढाइएको भन्दै उक्त समूहले त्यसको विरोधमा उत्रिने निर्णय गरेको हो ।

आज डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले पार्टीले विधान विपरित र छलफलविनै नेताहरूको नाम सार्वजनिक गरेर कारबाही अघि बढाएको आरोप लगाएको छ ।

बैठकपछि डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, “अनुशासन समितिको कारबाही प्रक्रिया न रोकिएको छ, न त छलफलमै आधारित छ । हामी राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्छौं, अन्याय हुन दिँदैनौं ।”

उनका अनुसार कारबाहीको प्रक्रियालाई तत्काल रोक्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । “अन्यायमा परेका सबैलाई न्याय दिलाएरै छाड्छौं,” थपलियाको भनाइ छ ।

बैठकमा सहभागी उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापति र महामन्त्रीहरूबीच अनुशासन समितिको फाइल तत्काल अघि नबढाउने सहमति भएको जनाउँदै, “तर संयोजक आनन्द ढुंगानाले समितिभित्र छलफल नगरी कारबाहीको विज्ञप्ति निकालेपछि हामीले त्यसको प्रतिकार गर्ने निर्णय गरेका हौं,” जानकारी दिए ।

बैठकमा उपसभापति गुरुङसहित सहमहामन्त्री जीवन परियार, नेता अर्जुन नरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम र काठमाडौंमा रहेका अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया