काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक २५.८९ अंकले उकालो लाग्दै २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ ।
बुधबार ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता सेयर किनबेच भएकोमा बिहीबार त्यो कारोबार ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ पुगेको छ । आजको दिन ३१२ वटा स्टकको २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच भएको हो ।
इन्डेक्सहरूतर्फ हेर्दा, सेन्सेटिभ इन्डेक्स ७।५५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२७ अंकले उकालो लागेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स पनि २.६७ अंकले बढेको छ ।
सेयर मूल्य वृद्धिको अगुवाइमा माइखोला हाइड्रो पावर रहेको छ । यस कम्पनीको सेयर मूल्य ६६.६२ रुपैयाँले उकालो लाग्दै ८८४.१५ रुपैयाँमा पुगेको छ । त्यस्तै, मान्डु हाइड्रोपावरको सेयर ५९ रुपैयाँले बढेर ९३१.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
समता घरेलु लघुवित्त र भगवती हाइड्रोको सेयर मूल्य क्रमशः ५४.३६ रुपैयाँ र ६६.८५ रुपैयाँले वृद्धि हुँदै ८३१.३४ रुपैयाँ र १ हजार ९१.९० रुपैयाँमा कारोबार भएको छ ।
अत्यधिक कारोबार हुने सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर कम्पनी, सानीमा बैंक लिमिटेड र सप्तकोशी विकास बैंक परेका छन् ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेर २३४०.४० रुपैयाँमा झरेको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर ६.४७ प्रतिशतले घटेर ३५७.६८ रुपैयाँमा पुगेको छ भने सिन्धु विकास बैंकको सेयर मूल्य ४.३९ प्रतिशतले घट्दै ८८२.७४ रुपैयाँमा सीमित भएको छ ।