काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका केही स्थानमा भने मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ भने पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।