काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव कायम रहेको छ । साथै, मध्य र पूर्वी भू-भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको प्रभावसमेत देखिएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ ।
महाशाखाले देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षा तथा चट्याङका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।