काठमाडौं । देशका विभिन्न भू–भागमा मनसुनी वायुको प्रभाव विस्तार हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।
महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि गर्मी बढेर तातो दिन महसुस हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ, वर्षा र तातो लहरको सम्भावित प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।