काठमाडौं । देशका विभिन्न भू-भागमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ।
आज राति भने देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।