काठमाडौं । अभिनेत्री केकी अधिकारीले हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ को जीवनमा आधारित निर्माणाधीन चलचित्रमा काम गर्न पाउँदा आफूलाई अत्यन्तै गर्व र सौभाग्य महसुस भएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो जीवन बाँच्न सकियोस् कि एक दिन त्यसैमा चलचित्र बन्न सकोस् भन्दै मदनकृष्णको जीवन त्यसको प्रेरणादायी उदाहरण भएको उल्लेख गरेकी छन्।
उनले मदनकृष्णको जीवनयात्रालाई पर्दामा उतार्ने महत्वपूर्ण चलचित्रको एउटा अर्थपूर्ण हिस्सा बन्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएकी छन्।
अधिकारीले यो चलचित्र केवल मनोरञ्जनका लागि हेर्ने चलचित्रमा सीमित नहोस्, बरु दर्शकले आफ्नै जीवनको धड्कन महसुस गर्न सक्ने अनुभव बनोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन्।
उनले मदनकृष्णको आदर्श, संघर्ष, प्रेम र योगदानले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै चलचित्र एउटा जीवन्त दस्तावेजका रूपमा स्थापित हुने आशा राखेकी छन्।
साथै, यस यात्रामा आफूलाई विश्वास गर्ने निर्देशक, निर्माता तथा सम्पूर्ण टोलीप्रति उनले हार्दिक आभार व्यक्त गरेकी छन्।