पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहको वर्षदिन पुग्न लाग्दा मुलुकको राजनीतिक अवस्था जटिल बन्दै गएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू पुनः सक्रिय हुन थालेको र उदयमान नयाँ शक्तिहरू भने ‘चौबाटोमा अल्मलिए’ जस्तो देखिएको उल्लेख गरेका छन्।
उनले बाह्य रूपमा भूराजनीतिक परिस्थिति थप जटिल बन्दै गएको तथा आन्तरिक रूपमा लामो समयदेखि सतहमुनि रहेको अर्थराजनीतिक र सामाजिक–सांस्कृतिक असन्तुष्टिको ‘ज्वालामुखी’ जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढ्दै गएको बताएका छन्।
यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै राजनीतिक शक्तिले विश्व इतिहास र नेपालको आफ्नै इतिहासबाट पाठ सिक्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
पुराना शक्तिहरूले प्रतिशोधपूर्ण ढंगले अवरोध सिर्जना गर्नुको सट्टा इमानदार आत्मसमीक्षा गर्नुपर्ने र नयाँ सत्ताधारीहरूले अहंकारका साथ एक्लै राज्य सञ्चालन गर्न खोज्नुको सट्टा विनम्र तथा संयमित हुँदै सबैको साथ लिएर अघि बढ्नुपर्ने भट्टराईले बताएका छन्।
यस्तो नगरे अहिलेको संवेदनशील ऐतिहासिक घडीमा देश र जनताका लागि अवस्था जोखिमपूर्ण र घातक बन्न सक्ने उनले चेतावनी दिएका छन्।
भट्टराईले समाज परिवर्तन र लोकतान्त्रिक राज्य सञ्चालन कुनै एक व्यक्तिको वा शक्तिको एकल दौड नभई ‘रिले दौड’ जस्तै सामूहिक प्रक्रिया भएको स्मरण गराएका छन्।