काठमाडौं । हाल कोशी प्रदेशका केही स्थानमा मात्रै मनसुनी वायुको प्रभाव देखिएको छ भने देशका अन्य भू–भागमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने अनुमान गरिएको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हिटवेभ) को प्रभाव रहने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।