हिमाली क्षेत्रमा हिमपात, पहाडी र तराईमा वर्षा तथा हावाहुरीको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली, पहाडी तथा तराई भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थानहरूमा, साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशसहित बाँकी हिमाल र पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा/हिमपात हुन सक्ने अनुमान छ। तराईका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनेछ। साथै मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया