पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, केही तराई क्षेत्रमा तातो दिन

hitkhabar.com


काठमाडौं । देशभर हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस्तै, कोशी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति भने कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया