जनक परियारको गिरफ्तारी संविधानविपरीत भएको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी

hitkhabar.com


काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारको गिरफ्तारी संविधान र कानुनविपरीत भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दाबी गरेका छन्।

आइतबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै त्रिपाठीले नागरिकले आफ्ना विचार राख्न पाउने मौलिक अधिकारमाथि राज्यले हस्तक्षेप गरेको आरोप लगाए।

राज्यले ‘कोही छैन’ भन्ने ठानेर परियारको आवाज दबाउन खोजेको दाबी गर्दै त्रिपाठीले शक्तिशाली व्यक्तिहरूमाथि कारबाही गर्न नसक्ने तर कमजोर वर्गका नागरिकलाई पक्राउ गर्ने प्रवृत्ति गलत भएको बताए।

उनले सत्तामा रहेकाहरूले नागरिकको आलोचनालाई सुझावका रूपमा लिनुपर्नेमा चुनौतीका रूपमा लिएर आवाज दबाउने प्रयास गरे त्यसले सरकारको असफलता निम्त्याउने बताए। जनक परियारजस्ता नागरिकको पक्षमा आफूहरू उभिने उनको भनाइ थियो।

कार्यक्रममा अधिवक्ता यमकुमारी ददेलले पनि परियारको गिरफ्तारीले वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप लगाइन्। उनले ‘जरुरी पक्राउ पुर्जी’ प्रयोग गरी परियारलाई गिरफ्तार गरिएको भन्दै त्यसको कानुनी आधारमाथि प्रश्न उठाइन्।

ददेलका अनुसार जरुरी पक्राउ पुर्जी प्रयोगसम्बन्धी कानुनी व्यवस्थालाई बेवास्ता गर्दै परियारलाई पक्राउ गरिएको हो भने त्यो राज्यशक्तिको दुरुपयोग हुने उनको दाबी थियो।

दलित मुक्ति अभियानका दलमर्दन कामीले पनि राज्यले शक्तिशाली व्यक्तिहरूमाथि कारबाही गर्न नसकेर जनक परियारलाई कमजोर ठानेर गिरफ्तार गरेको आरोप लगाए। उनले सरकारका गलत गतिविधिको आफूले पनि आलोचना गरिरहेको भन्दै आफूलाई गिरफ्तार गरेर देखाउन चुनौती दिए।

त्यस्तै, श्रम संस्कृति पार्टीका युवा नेता निर्मल परियारले राहत तथा उद्धारमा सरकारको उदासीनता र जनविरोधी कदमको विरोध गर्दा नागरिकलाई पक्राउ गरिनु गम्भीर विषय भएको बताए। उनले सरकारका गतिविधिको विरोध गर्ने नागरिकको आवाज दबाउन खोजिएको आरोप लगाए।

दलित अभियन्ता गणेश गोतामेले जनक परियारलाई पटक–पटक गिरफ्तार गरिएको विषयले दलित समुदायमा सरकारप्रति गम्भीर प्रश्न उठेको बताए।

कार्यक्रम सकिएलगत्तै पक्राउ

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारलाई शनिबार संवाद डबली, अनामनगरमा समसामयिक राजनीतिक विषयमा आयोजित कार्यक्रम सम्पन्न भएपछि साँझ करिब ५ः४५ बजे प्रहरी परिसर भद्रकालीबाट आएको टोलीले पक्राउ गरेको बताइएको छ।

परियारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा सरकार उदासीन बनेको आरोप लगाएका थिए।

यसअघि गत जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पनि परियारलाई प्रहरी परिसर भद्रकालीले पक्राउ गरेको थियो। करिब एक सातापछि सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए।

परिवारका एक सदस्यका अनुसार परियार हालै मात्र अदालतमा उपस्थित भई तारेख थामेर आएका थिए र आगामी मंसिर २२ गते अदालतमा उपस्थित हुने तारेख पाएका थिए।

प्रतिक्रिया