काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि सामान्य बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, पहाडी भू-भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै, मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।