काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तयारी गरिएको छ।
बैठकमा पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतका विषयमा छलफल हुने बताइएको छ।
बाढीबाट प्रभावित नागरिकको खोजी तथा उद्धार, उपचार, राहत व्यवस्थापन र विस्थापित परिवारको पुनःस्थापनाका विषयमा सरकारले आवश्यक कदम चालिरहेको छ। प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको अवस्थाबारे पनि बैठकमा समीक्षा हुन सक्नेछ।
यसैबीच प्रधानमन्त्री शाहले बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै बाढी प्रभावित नागरिकको उद्धार तथा राहतलाई सरकारले प्राथमिकतामा राखेको बताएका थिए। उनले प्रभावितको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए।
आज बस्ने मन्त्रिपरिषद् बैठकबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई थप प्रभावकारी बनाउने, विस्थापितको व्यवस्थापन गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।
बैठकमा बाढीबाहेक सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।