विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिकाबारे काठमाडौंमा अन्तरक्रिया

hitkhabar.com


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, विपद् फोकल पर्सन, कर्मचारी, विभिन्न विषयगत विज्ञ तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सेन्टर फर इनोभेटिभ्स् गभरनेन्सको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि आफ्ना पालिकाले अवलम्बन गरेका नीतिगत व्यवस्था, अभ्यास तथा कार्यान्वयनका क्रममा सामना गरिरहेका चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा सहभागी विज्ञहरूले स्थानीय तहले विपद् व्यवस्थापनका क्षेत्रमा गरिरहेका प्रयासको प्रशंसा गर्दै ती प्रयासलाई समन्वयात्मक र एकीकृत रूपमा अघि बढाउन सके अझ प्रभावकारी परिणाम हासिल गर्न सकिने धारणा राखेका थिए।

नेपाल सरकारका पूर्वसचिव तथा सेन्टर फर इनोभेटिभ्स् गभरनेन्सका कार्यकारी अध्यक्ष कृष्णहरि बास्कोटाले संविधान तथा प्रचलित कानुनले स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि प्रदान गरेका अधिकार, दायित्व र जिम्मेवारीबारे प्रस्तुतीकरण दिएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् व्यवस्थापन साझा जिम्मेवारी भएकाले सबै निकायको समन्वित प्रयासबाट मात्र प्रभावकारी व्यवस्थापन सम्भव हुने बताउनुभयो। उहाँले राज्यका सबै निकाय यस कार्यमा सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, प्राधिकरणका सहसचिव प्रदीप कुमार कोइरालाले विपद्को जोखिम उच्च रहेका बेला स्थानीय तहहरूले गरिरहेका कार्य र अनुभव एकअर्कासँग आदानप्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय तहबीच समन्वय, अनुभव आदानप्रदान तथा साझा कार्ययोजनाको आवश्यकता रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

प्रतिक्रिया