ग्याल्पो ल्होसार आज : शेर्पा समुदायले नयाँ वर्ष उत्साहपूर्वक मनाउँदै

hitkhabar.com


काठमाडौं । हिमाली क्षेत्रका शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने भएकाले यो पर्वलाई शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने परम्परा छ ।

ल्होसारको अवसरमा गाउँघर, टोल–छिमेकका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने चलन रहेको छ । यस दिन नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक, खाप्से, डेशिललगायतका परिकार तयार गरी परिवार तथा आफन्तसँग सँगै बसेर खाने र शुभकामना साटासाट गर्ने गरिन्छ ।

महायान बौद्ध परम्पराअनुसार चन्द्र पात्रोको आधारमा फागुन शुक्लपक्ष प्रतिपदादेखि नयाँ वर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाइन्छ । यस अवसरमा स्याब्रु नृत्य प्रस्तुत गरिन्छ भने तुङ्गना (डम्याङ) को मधुर धुनले वातावरणलाई थप रमाइलो बनाउँछ ।

यो पर्वलाई पारिवारिक तथा सामाजिक एकता सुदृढ गर्ने अवसरका रूपमा पनि लिइन्छ । आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्दै समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

ल्होसारका दिन गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने र परम्परागत भोजनसँगै हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गर्ने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया