काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहन पुगेको कारण नेपालमा मनसुन केही कमजोर भएको छ । यद्यपि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी छ ।
हाल देशभर सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भूभाग, अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ । मधेस प्रदेशलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी प्रदेशको तराई र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।