देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

रातिको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले देशका तराई र पहाडी भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया