काठमाडौं । देशभर मनसुनी वायूको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको हो।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान, तराईका एक–दुई स्थान तथा कोशी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।