रौतहट । रौतहटको गरुडा नगरपालिका–१ मा रहेको एक माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह बर्खास्त भएका छन्। १६ वर्षीया छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा साहलाई हटाइएको हो।
विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको संयुक्त बैठकले साहलाई तत्काल प्रभावबाट बर्खास्त गर्ने निर्णय गरेको हो।
शिक्षक साहले यसअघि पनि पटक–पटक छात्राहरूलाई दुर्व्यवहार गर्दै आएको आरोप विद्यालयका पूर्व अध्यक्ष राजकुमार दासले लगाएका छन्। उनका अनुसार सामाजिक दण्ड त भोगेका थिए, तर कानुनी कारबाहीको अभावमा त्यस्तो व्यवहार दोहोरिएको हो।
गत आइतबार (असार २९) साहले एक छात्रालाई ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै मोबाइलमार्फत सन्देश पठाएपछि विवाद चर्किएको थियो। घटनापछि आक्रोशित स्थानीय समूहले शिक्षकमाथि कुटपिट र विद्यालयमा तोडफोडसमेत गरेका थिए। त्यसपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार अभिभावकको उजुरीका आधारमा साहविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि सात दिनको म्याद लिई प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
साहले सो विद्यालयमा कक्षा ७ सम्म अङ्ग्रेजी तथा कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए।