काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।