देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा बढ्दो गर्मी

hitkhabar.com


काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। यसको असरका कारण आज देशका विभिन्न स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ। अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। मधेश प्रदेशसहित केही तराई क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका उच्च भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।

यता, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका केही स्थानमा अत्यधिक गर्मी महसुस हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया