काठमाडौं । देशभर हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यता मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने तातो दिनको अवस्था कायम रहने मौसमविद्को भनाइ छ।
महाशाखाका अनुसार आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतः सफा रहनेछ। रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च हिमाली क्षेत्रमा पनि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।