काठमाडौं । आज (मंगलबार) सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभा र १:१५ बजे राष्ट्रिय सभाको बैठक सुरु हुने कार्यतालिका रहेको छ ।
प्रतिनिधिसभाको कार्यसूची :
प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्नेछन् ।
साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूबाट जवाफ लिने कार्यक्रम रहेको छ ।
राष्ट्रिय सभाको कार्यसूची :
राष्ट्रिय सभाको बैठकमा पनि शिक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने छन् ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।