काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेट भएको छ।
सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले रसुवा–भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो।
भेटका क्रममा सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा नेपालले प्रस्तुत गरेको ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुई तिहाइ मतसहित पारित भएको जानकारी गराउनुभयो।
उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट जोखिममा रहेका क्षेत्रहरूमा पर्ने प्रभाव न्यूनीकरण गर्न, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ बनाउन र पारस्परिक संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।
भेटमा अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठका अवसरमा रचनात्मक सहकार्यलाई अघि बढाउने बताउनुभयो।
उहाँले विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न संयुक्त राज्य अमेरिका तयार रहेको जानकारी गराउनुभयो।
त्यसैगरी, अमेरिकी संसद्मा रहेको संसदीय ककस र नेपाल–अमेरिकी संसदीय मैत्री समूहबीच निरन्तर संवाद तथा सहकार्य अघि बढाउन अमेरिकी संसद् इच्छुक रहेको पनि उहाँले बताउनुभयो।