काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकटको व्यवस्थापन तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेको व्यवस्थापन सम्बन्धमा विस्तृत जानकारी लिएका छन्।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धारका बाँकी कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले सोमबार नै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
सुरक्षा प्रमुखहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार तथा राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले उद्धार तथा राहत कार्यमा कुनै पनि कसर बाँकी नराख्न र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन्।
सरकारले रसुवामा बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहत र घाइतेको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।