आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी भूभागमा सामान्यभन्दा केही उत्तरतिर सरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा सामान्य बदली रहँदा बाँकी भूभागमा आंशिक बदली छ । केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने देखिएको छ । विशेषगरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी भूभागमा पनि छिटफुट वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।

आज राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने देखिएको छ । साथै, कोशी, मधेश र बागमती प्रदेशका केही भागमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया