पश्चिमी वायु सक्रिय : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने केही क्षेत्रमा तातो लहरको जोखिमसमेत देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै मधेश प्रदेशका केही तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया