काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं संस्करणअन्तर्गत काठमाडौंमा सुरु भएको तीनदिने सम्मेलनमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरूलाई ‘इन्टरनेट इनेबलर्स अवार्ड’ प्रदान गरिएको छ।
इन्टरनेट सेवाको विकास, विस्तार तथा सर्वसाधारणको पहुँचमा पुर्याउन उल्लेखनीय योगदान दिएका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका ६ जना अभियन्तालाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा नेपालका दीलिप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्ले रहेका छन्।
इन्टरनेट इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार, यी अभियन्ताहरूले इन्टरनेट आम नागरिकको दैनिक जीवनको हिस्सा बन्नुअघि नै यसको पहुँच विस्तार, पूर्वाधार विकास तथा व्यावसायिक इन्टरनेट सेवाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यसअघि नेपालका गौरवराज उपाध्यायलाई पनि एसिया–प्रशान्त क्षेत्रका अग्रणी इन्टरनेट अभियन्ताका रूपमा सम्मान गरिएको थियो। उनी सानोगका संस्थापकसमेत हुन्।
भारतका नीरज सोनकरले सन् १९९५ मा भिएसएनएलमार्फत भारतको पहिलो व्यावसायिक इन्टरनेट सेवा जिआइएएस (GIAS) सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टम (BBS)मार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चारसँग जोड्ने कार्य गरेका थिए।
बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकम (BDCOM) को विकाससहित तीन दशकभन्दा लामो योगदानका लागि सम्मान गरिएको हो भने भुटानका जिचेन थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जिएसएम मोबाइल नेटवर्क विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
नेपालबाट सम्मानित दीलिप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वल्र्डलिंकको स्थापना गरेका थिए। उनको नेतृत्वमा वल्र्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीका रूपमा स्थापित भएको छ।
विज्ञप्तिअनुसार, वल्र्डलिंकको सेवा अहिले देशका अधिकांश जिल्लामा विस्तार भइसकेको छ भने नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यही कम्पनीको सञ्जालमार्फत प्रवाह हुने गरेको छ। अग्रवालको नेतृत्वमा कम्पनीले डायल–अप इन्टरनेटबाट मेट्रो इथरनेट हुँदै देशकै प्रमुख फाइबर टु द होम (FTTH) नेटवर्कमध्ये एक निर्माण गरेको छ, जसले कर्णालीसहित दुर्गम क्षेत्रमा उच्चगतिको ब्रोडब्यान्ड सेवा विस्तार गर्न महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ।
इन्टरनेट इनेबलर्सका अनुसार, कोभिड–१९ महामारीपछि आयोजित पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनबाट यस अभियानको अवधारणा सुरु भएको हो। इन्टरनेटको इतिहास संरक्षण गर्दै डिजिटल पूर्वाधार निर्माणमा योगदान पुर्याएका इन्जिनियर, नेटवर्क अपरेटर, शिक्षक तथा प्रविधि अभियन्ताहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गरिँदै आएको संस्थाले जनाएको छ।