आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायूको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।

रातिको समयमा मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया